प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (AIGP) डा. मनोज कुमार के.सी. निडर नेतृत्व, उच्च व्यावसायिकता र अपराध अनुसन्धानमा अतुलनीय दक्षताका लागि चिनिने एक प्रतिष्ठित उच्च अधिकारी हुनुहुन्छ । आफ्नो व्यावसायिक करियरमा उहाँले अनेकौँ जटिल, संवेदनशील र हाई-प्रोफाइल अपराधहरूको सफल अनुसन्धान गरी नेपालको शान्ति-सुरक्षा र न्याय प्रणालीलाई मजबुत बनाउन निर्णायक भूमिका निर्वाह गर्नुभएको छ । अनुसन्धान अधिकृतका रूपमा देखाएको दृढता, कानुनको निष्पक्ष पालना र आपराधिक गिरोहहरू विरुद्धको कडा अडानले उहाँलाई प्रहरी संगठनभित्र मात्र नभई आम नागरिकको माझमा पनि एक भरोसायोग्य र सम्मानित नेतृत्वको रूपमा स्थापित गरेको छ ।

 

कार्यसम्पादनमा देखिने कटिबद्धताका साथसाथै डा. के.सी. बौद्धिक, अध्ययनशील र दूरदर्शी प्रशासकका रूपमा समेत परिचित हुनुहुन्छ । विद्यावारिधि (Ph.D) सम्मको उच्च शिक्षा हासिल गर्नुभएका उहाँले प्रहरी सेवामा आधुनिक प्रविधि, वैज्ञानिक अनुसन्धान पद्धति र रणनीतिक सोचलाई अझ प्रभावकारी रूपमा आत्मसात् गराउनुभएको छ । संगठनको गरिमा उच्च राख्दै अपराध नियन्त्रण र नागरिक केन्द्रित सेवामा समर्पित उहाँको अनुकरणीय यात्राले नेपाल प्रहरीको आधुनिक अनुसन्धान र कुशल नेतृत्वको एक सशक्त नमुना प्रस्तुत गर्दछ । AIGP डा. के.सी. नेपाल प्रहरी सेवामार्फत कानून कार्यान्वयन तथा प्रवर्तनका एक निष्ठावान्, दूरदर्शी र प्राज्ञिक व्यक्तित्व हुनुहुन्छ । हाल ६ जुलाई २०२६ देखि नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग (नक्साल) को प्रमुखका रूपमा कार्यरत उहाँले विगत २८ वर्षदेखि शान्ति, सुरक्षा, अनुसन्धान र संस्थागत सुधारका क्षेत्रमा योगदान पुर्‍याउँदै आउनुभएको छ ।

१. व्यावसायिक यात्रा र कमान्ड नेतृत्व

  • सेवा प्रवेश र पदोन्नति: वि.स. २०५४ चैत्र २८ गते तदनुसार ३१ मार्च १९९८ प्रहरी निरीक्षक (Inspector) पदबाट व्यावसायिक यात्रा आरम्भ गर्नुभएका डा. केसी वि.स. २०८२ वैशाख ११ गते तदनुसार २४ अप्रिल २०२५ मा प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको हो ।
  • फिल्ड कमान्ड: उहाँले काठमाडौं उपत्यका अपराध महाशाखा प्रमुखको रुपमा रहेर चर्चित भुटानी शरणार्थी सम्बन्धी ठगी तथा संगठित अपराधको सफलतापूर्वक अनुसन्धान साथै मोरङ र रूपन्देही जिल्लाको प्रहरी प्रमुखको रुपमा सफल नेतृत्व गर्नुभएको छ ।
  • CIB र ऐतिहासिक अनुसन्धान: केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) को नेतृत्व सम्हाल्दै उहाँले नक्कली हवाई उद्धार ठगी, स्मार्ट टेलिकममा भएको ठगी, प्रभु ग्रुप अन्तर्गतको बैंक लगायत संस्थाहरुको संगठित ठगी, धितोपत्र तथा बिमा ठगी, क्रिप्टोकरेन्सी अपराध, र सरकारी जग्गा अतिक्रमण तथा हिनामिना जस्ता जटिल मुद्दाहरूको निष्पक्ष, वस्तुनिष्ठ र सफलतापुर्वक अनुसन्धान गर्नुभएको थियो । विशेष गरी चर्चित 'नक्कली भुटानी शरणार्थी प्रकरण'को निष्पक्ष र ऐतिहासिक अनुसन्धानको नेतृत्व गरेर उहाँले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उच्च प्रशंसा कमाउनुभयो ।

२. प्राज्ञिक उचाइ र शैक्षिक योगदान

  • विद्यावारिधि (PhD): कम्बोडियाको पन्नासत्र विश्वविद्यालयबाट द्वन्द्व रूपान्तरण (Conflict Transformation) विषयमा विद्यावारिधी ।
  • अनुसन्धान क्षेत्र: ("Security Enhancement: A Study of Human Security in Policing in the Changing Context of Nepal") ।
  • अन्य स्नातकोत्तर उपाधिहरू:
    • M.A. ACTS व्यावहारिक द्धन्द रुपान्तरण अध्ययन (पन्नासत्र विश्वविद्यालय, कम्बोडिया)
    • M.A. समाजशास्त्र/मानवशास्त्रमा स्नातकोत्तर (त्रिभुवन विश्वविद्यालय, काठमाडौं)
    • M.P.A. सार्वजनिक जनप्रशासनमा स्नातकोत्तर (त्रिभुवन विश्वविद्यालय, काठमाडौं)
  • संस्थागत योगदान: उहाँ नेपाल प्रहरी कर्मचारी कलेज (NPSC), महाराजगञ्जका संस्थापक निर्देशक हुनुहुन्छ, जहाँ उहाँले 'प्रहरी विज्ञानमा स्नातकोत्तर' (MPS) पाठ्यक्रमको निर्माण गर्नुभयो । साथै, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा प्रशिक्षण प्रदान र उहाँ त्रिभुवन विश्वविद्यालय तथा आगिंक क्याम्पसहरुमा अतिथि अध्यापकका रूपमा पनि संलग्न हुनुहुन्छ ।

३. अन्तर्राष्ट्रिय अनुभव र व्यक्तित्व

  • संयुक्त राष्ट्रसङ्घीय मिसन: कोसोभो (UNMIK) र हैटी (UNMINUSTAH) मा शान्ति स्थापनार्थ सुरक्षा अधिकृतका रूपमा खटिएर द्वन्द्वोत्तर क्षेत्रमा स्थानीय प्रहरीको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान । नेपाली, अंग्रेजी, फ्रान्सेली र स्पेनी गरी चार भाषामा कमाण्ड भएका डा. केसीको कार्यअनुभव युरोप, एसिया, अफ्रिका र अमेरिका गरी विश्वव्यापी रूपमा फैलिएको छ ।

४. प्रमुख कृति तथा प्रकाशनहरू

  • पुस्तकाकार कृतिहरू:
    • “Identify Effective Measures to Combat Organized Crime in Post-Conflict     Kathmandu” (अनुसन्धान ग्रन्थ, २०१३)
    • “Enhancing Policing in Nepal” (पुस्तक, २०२३)
  • जर्नल तथा अनुसन्धान लेख: “Human Security-Informed Policing in Nepal: Motivation to Build Sense of Security in Community” (Social Science Research Journal, २०२०) लगायत विभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रहरी पत्रिकाहरूमा लेखहरू प्रकाशित ।

५. सम्मान तथा विभूषण

उहाँका निष्पक्ष, साहसिक र उत्कृष्ट कार्यहरूको कदर गर्दै नेपाल सरकारले "सुप्रबल जनसेवा श्री""प्रबल गोरखा दक्षिण बाहु" जस्ता सर्वोत्कृष्ठ राष्ट्र सेवक सम्मानका साथै 'उत्कृष्ट अनुसन्धानकर्ता' र 'उत्कृष्ट जिल्ला प्रहरी प्रमुख'का रूपमा विभूषित गरेको छ ।