प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
नेपाल प्रहरी केनाईन महाशाखा

 

१.    पृष्‍ठभूमी:

 

नेपाल प्रहरीबाट बि.सं. २०२६ सालमा ५ जना प्रहरी कर्मचारीहरु मलेशियामा तालिम गर्न गएको र साथमा ल्याएको २ वटा तालिम प्राप्‍त जर्मन शेफर्ड जातको भाले कुकुर र नेपालमा खरिद गरीएका सोहि जातको २ वटा कुकुर सहित जम्मा ४ वटा कुकुरहरुद्वारा सेवाको प्रारम्भ गरीएको थियो । विधिवत रुपमा बि.सं. २०३२ सालमा प्र.ना.नि सहित १० जनाको दरबन्दी कायम भई प्रहरी प्रधान कार्यालयमा प्रहरी कुकुर शाखाको रुपमा स्थापना भएको थियो । बदलिँदो परीस्थितिसँगै प्राप्‍त सफलता र आवश्यकतालई मध्यनजर गर्दै बि.सं. २०४७ मा तात्कालीन प्रहरी कुकुर शाखालाई केन्द्रीय प्रहरी कुकुर तालिम स्कुल र पाँच वटै विकास क्षेत्रहरुमा कुकुर शाखा सहित स्तरोन्नति गरीयो । बि.सं. २०७५ सालमा तात्कालीन केन्द्रीय प्रहरी कुकुर तालिम स्कुललाई केनाईन महाशाखा र २०७८ सालमा नेपाल प्रहरी केनाईन कार्यालयको रुपमा स्तरोन्नति गरीयो । हाल नेपालको सुदुर-पूर्व देखि सुदुर-पश्‍चिसम्म १६५ जनाको दरवन्दीबाट केनाईन सेवा सञ्चालनमा रहेको छ ।

 

नेपाल प्रहरीको केनाईन सेवा अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुको संख्यात्मक विवरण:-

 

सि.नं.

कार्यालयको नाम

जम्मा

१.

नेपाल प्रहरी केनाईन कार्यालय, महाराजगंज, काठमाण्डौ ।

६७

२.

त्रिभुवन अन्तराष्‍ट्रिय विमानस्थल सुरक्षा कार्यालय केनाईन शाखा, गौचर, काठमाण्डौ ।

३.

लागू औषध नियन्त्रण ब्यूरो त्रिभुवन अन्तराष्‍ट्रिय विमानस्थल शाखा, गौचर, काठमाण्डौ ।

४.

कोशी प्रदेश प्रहरी कार्यालय केनाईन शाखा, धरान, सुनसरी ।

५.

क्षेत्रीय विमानस्थल केनाईन शाखा, बिराटनगर ।

६.

मधेश प्रदेश प्रहरी कार्यालय केनाईन शाखा, लालगढ, धनुषा ।

७.

क्षेत्रीय विमानस्थल केनाईन शाखा, जनकपुर ।

८.

मधेश प्रदेश विपद व्यवस्थापन गुल्म केनाईन शाखा, बिरगंज ।

९.

बागमती प्रदेश प्रहरी कार्यालय केनाईन शाखा, हेटौंडा, मकवानपुर ।

११

१०.

गण्डकी प्रदेश प्रहरी कार्यालय केनाईन शाखा, पोखरा, कास्की ।

११.

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल केनाईन शाखा, भैरहवा ।

१२.

कर्णाली प्रदेश प्रहरी कार्यालय केनाईन शाखा, सुर्खेत (हाल कोहलपुर, बाँके) ।

११

१३.

सुदूर पश्‍चिम प्रदेश प्रहरी कार्यालय केनाईन शाखा, धनगढी, कैलाली ।

१०

कुल जम्मा

१५८

 

२.    उद्देश्य:

  • तालिम प्राप्‍त एवं दक्ष जनशक्ति (परीचारक तथा प्रशिक्षक)  तयार पार्नु ।
  • अपराधतथा अपराधीसँग सम्बन्धित तथ्य एवं सबुद पहिचान गर्नु, अपराधी पहिचान गर्नु र अनुसन्धानको दायरालाई साँघुरो बनाउनु ।
  • जन-धनको सुरक्षाको लागि कुकुरद्वारा हात-हतियार तथा विष्फोटक पदार्थको खोजी एवं पहिचान गर्नु ।
  • लागू औषध कारोबार तथा प्रयोगलाई नियन्त्रण गर्नको लागि कुकुरद्वारा लागू औषधको खोजी एवं पहिचान गर्नु ।
  • विपद्को क्रममा हराएका वा अपहरण गरी लुकाइएका मानिसको उद्दार कार्यमा सहयोग पुर्‍याउनु ।
  • उन्नत जात तथा नश्‍लका कुकुरको उत्पादन गर्नु ।
  • उन्नत जात तथा नश्‍लका कुकुरलाई प्रशिक्षण प्रदान गर्नु ।
  • प्रहरीको जनसम्पर्क बढाउन मद्दत गर्नु ।

 

३.    केनाईन कार्यालयबाट हाल संचालित तालिमहरु:

  • बेसिक डग ह्‍याण्डलिङ्ग तालिम
  • हात-हतियार तथा विष्फोटक पदार्थ खोजी एवं पहिचान कुकुर तालिम
  • कुकुरद्वारा लागू औषध खोजी एवं पहिचान तालिम
  • अपराध अनुसन्धानमा ट्रयाकर कुकुर प्रयोग तालिम
  • कुकुरद्वारा मानव खोजी तथा उद्धार तालिम
  • आधारभूत पशु स्वास्थ्य तालिम
  • केनाईन ह्‍याण्डलिङ्ग तथा परीचालन अनुशिक्षण

 

४.    कुकुर परीचालनका आधार र कार्यक्षेत्रः

  • अपराध अनुसन्धान तथा नियन्त्रण: हत्या, चोरी, डकैती वा अपहरण जस्ता विभिन्न अपराधमा कुकुरको प्रयोग गरीएमा घटनास्थलमा फेला परेका सुरक्षित सवुद प्रमाण वा पदचिन्ह सुँघाइ उक्त गन्धसँग मेल खाने अपराधी वा अभियुक्त पहिचान गर्न मद्दत पुग्दछ । यसको लागि घटनास्थलमा रहेको गन्धयुक्त सबुद प्रमाणहरु सुरक्षित हुनुका साथै कुकुरलाई २४ घन्टाभित्र प्रयोग गरीनु पर्दछ । ब्लडहाउन्ड जातको कुकुर अपवाद हो जसले ४ दिन पुरानो सबुदमा समेत काम गर्न सक्छ । यस किसिमको अपराध अनुसन्धानको लागि प्रयोग गरीने कुकुरलाई ट्रयाकर डग (Tracker Dog) भनिन्छ ।
  • हात-हतियार तथा विष्फोटक पदार्थ खोजी एवं पहिचान: तालिम प्राप्‍त कुकुरको प्रयोगबाट विष्फोटक पदार्थ कृयाशिल हुनु अगावै पहिचान गरी जनधन तथा सार्वजनीक सम्पतीको क्षति हुनबाट बचाउन/न्युनिकरणमा मद्दत पुग्दछ । यसको लागि कुकुरलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय अति विशिष्‍ट तथा विशिष्‍ट व्यक्तिको निवास, कार्यालय, सवारी साधन, सवारी मार्ग, समारोहस्थल तथा अन्य महत्वपूर्ण प्रतिष्‍ठानमा परीचालित गरीन्छ । विष्फोटनबाट हुने सम्भावित दुर्घटना र क्षतिबाट बचाउन यो एक भरपर्दो र प्रभावकारी माध्यम हो  । यस्ता किसिमको डिउटीमा प्रयोग गरीने कुकुरलाई Bomb Dog पनि भनिन्छ । विष्फोटक पदार्थको गन्ध सुँघेर कुकुरले वि.प. पहिचान गर्द्छ ।
  • लागू औषध खोजी एवं पहिचान: गैह्र-कानूनी लागू औषधको ओसार-पसार, बिक्री-वितरण, भण्डारण तथा प्रयोगलाई रोक्न तालिम प्राप्‍त कुकुर परीचालन गरीन्छ । लागू औषधको अवैध कारोबारलाई न्युनिकरण गर्नको लागि कुकुरलाई विभिन्न ईलाकाहरु जस्तै राष्ट्रिय, अन्तराष्ट्रिय सिमानाका, होटेल, रेस्टुराँ, विमानस्थल तथा अन्य संकित ईलाकामा सुँघ्न लगाईन्छ । यस किसिमको डगलाई Drugs/Narcotics Dog भनिन्छ जसको मद्दले उल्लेखनिय सफलता प्राप्‍त गरीएको छ ।
  • विपदमा कुकुरको प्रयोग: विभिन्न प्राकृतिक प्रकोपमा परी पुरिएका, हराएका वा बेपत्ता भएका मानिसहरुको खोजी एवं उद्धारका लागि Search and Rescue (SAR) dog को प्रयोग गरीन्छ । यसका साथै अपहरण गरी लुकाईएका व्यक्ति पत्ता लगाउन समेत यस किसिमको कुकुरको प्रयोग गरीन्छ ।

 

५.    राष्ट्रिय तथा अन्तराष्ट्रिय विमानस्थलमा कुकुरको प्रयोग
नेपाल प्रहरीमा सेवारत कुकुरहरु २४ घण्टा नै राष्ट्रिय तथा अन्तराष्ट्रिय विमानस्थलहरुमा यात्रुहरुको सुरक्षा तथा अवैध चिज-बस्तुको तस्करी नियन्त्रण गर्न परीचालित छन् । हाल बिराटनगर तथा जनकपुर राष्ट्रिय विमानस्थल र त्रिभुवन तथा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल गरी ४ वटा विमानस्थलबाट केनाईन  सेवा प्रदान भईरहेको छ ।

 

६.    राष्ट्रिय तथा अन्तराष्ट्रिय सिमा-नाकामा कुकुरको प्रयोग
सिमा-नाकाहरुबाट ओसार-पसार हुन सक्ने अवैध चिज-बस्तुको तस्करी नियन्त्रण तथा आवज-जावत गर्ने यात्रुहरुको सुरक्षाको निमित्त राष्‍ट्रिय तथा अन्तराष्‍ट्रिय सिमानाकाहरुमा प्रहरी कुकुरको प्रयोग गर्न सकिन्छ । जस अन्तर्गत हाल बिरगंज नाकाबाट केनाईन  सेवा प्रदान भईरहेको छ ।

 

७.    नेपाल प्रहरीमा सेवारत कुकुरहरुको संख्यात्मक विवरण:

 

हाल नेपाल प्रहरीमा निम्न लिखित तेह्रवटा विभिन्न कार्यालयहरुबाट १०१ वटा कुकुरले सेवा प्रदान गरीरहेका छन्:

 

सि.नं.

कार्यालय

जम्मा

१.

नेपाल प्रहरी केनाईन कार्यालय, महाराजगंज, काठमाण्डौ ।

४२

२.

त्रिभुवन अन्तराष्‍ट्रिय विमानस्थल सुरक्षा कार्यालय केनाईन शाखा, गौचर, काठमाण्डौ ।

३.

लागू औषध नियन्त्रण ब्यूरो त्रिभुवन अन्तराष्‍ट्रिय विमानस्थल शाखा, गौचर, काठमाण्डौ ।

४.

कोशी प्रदेश प्रहरी कार्यालय केनाईन शाखा, धरान, सुनसरी ।

५.

क्षेत्रीय विमानस्थल केनाईन शाखा, बिराटनगर ।

६.

मधेश प्रदेश प्रहरी कार्यालय केनाईन शाखा, लालगढ, धनुषा ।

७.

क्षेत्रीय विमानस्थल केनाईन शाखा, जनकपुर ।

८.

मधेश प्रदेश विपद व्यवस्थापन गुल्म केनाईन शाखा, बिरगंज ।

९.

बागमती प्रदेश प्रहरी कार्यालय केनाईन शाखा, हेटौंडा, मकवानपुर ।

१०.

गण्डकी प्रदेश प्रहरी कार्यालय केनाईन शाखा, पोखरा, कास्की ।

११.

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल केनाईन शाखा, भैरहवा ।

१२.

कर्णाली प्रदेश प्रहरी कार्यालय केनाईन शाखा, कोहलपुर, बाँके ।

१३.

सुदूर पश्‍चिम प्रदेश प्रहरी कार्यालय केनाईन शाखा, धनगढी, कैलाली ।

कुल जम्मा

१०१

 

८.    अपराध अनुसन्धानमा कुकुरको प्रयोग:


प्रत्येक जीव सँगै मानिसको शरीरबाट एक फरक किसिमको गन्ध निस्किरहेको हुन्छ । प्रहरी कुकुरलाई विभिन्न अपराधहरु जस्तै हत्या, चोरी डकैति, अपहरण जस्ता घटनामा प्रयोग गरीन्छ जसले अफुमा रहेको अद्‍भुद क्षमताको प्रयोग गरी घटनास्थलमा भएको सुबद वा पदचिन्हको गन्धसँग मेल खाने व्यक्ति पहिचान गर्दछ । कुकुरले आफुलाई सुँघाईएको सबुदको गन्धसँग मेल खाने शरीरको गन्ध पछ्याई अपराधी पहिचानमा मद्दत गर्दछ ।

  • ट्रयाकिङ्ग (Tracking): प्रत्येक व्यक्तिको शरीरबाट गन्धयुक्त सुक्ष्म कणहरु जमिन वा हावामा झर्ने गर्दछ । कुकुरले यहि जमिनमा खसेको गन्धयुक्त कणहरु सुँघेर अपराधीले प्रयोग गरेको बाटो वा ट्र्याक पहिचान गर्ने कार्यलाई ट्र्यकिङ्ग भनिन्छ ।
  • खोजी (Searching): कुकुरले पक्राउ परेको संकित व्यक्तिको गन्ध सुँघेर घटनास्थलमा लुकाएको वा छाडेका उक्त गन्धसँग मेल खाने सबुदहरु खोजी गर्ने कार्य गर्दछ जसलाई Searching भनिन्छ ।
  • सनाखत/पहिचान (Identification): कुकुरलाई घटनास्थलमा फेला परेको सवुद प्रमाण वा व्यक्तिको सामान सुँघाएर पक्राउ परेका विभिन्न संकास्पद व्यक्ती मध्येबाट मुख्य अपराधी छुट्याउने कार्य सनाखत हो ।

 

अपराध अनुसन्धानमा ट्रायकर कुकुरको प्रयोग प्रभावकारी हुने अवस्थाहरु:

  • घटनास्थल सुरक्षित रहेमा ।
  • संकित व्यक्ति पक्राउ परेमा ।
  • भौतिक सबुद प्रमाण मानवीय वा जीवजन्तुले नष्‍ट नगरेमा ।
  • घटनास्थल तथा सबुदलाई वातावरणीय तत्व (घाम, पानी, हावा) ले असर नगरेमा ।
  • घटना भएको २४ घण्टा भित्र कुकुरको प्रयोग गरीएमा ।
  • घटनास्थलमा अभियुक्तको पदचिन्ह सुरक्षित रहेमा ।

 

ट्रयाकर कुकुरको कार्यलाई प्रभाव पार्ने कुराहरु (limitations):

  • घटना भएको २४ घण्टा भित्र कुकुरको प्रयोग नगरीएमा ।
  • भौतिक सवुद प्रमाण वा पदचिन्ह मानवीय वा अन्य तत्वले नष्‍ट गरेमा ।
  • सवुदमा अपराधीको गन्ध हराएमा वा नष्‍ट भएमा।
  • अपराधीले गाडी वा अन्य सवारी साधनको प्रयोग गरेमा ।
  • अपराधीले खोला पार गरेमा (अपवाद कास्टिङ्ग सेन्ट) ।
  • घटनास्थलमा अन्य वाह्‍य गन्ध धेरै हाबी भएमा ।

 

९.    कुकुरमैत्री सवारी साधनको प्रयोग


केनाईन सेवालाई अझ प्रभावारी, छिटो, छरितो र चुस्त बनाउन सबै केनाईन सेवा प्रदायक कार्यालयहरुमा कुकुरमैत्री केनल राखिएको सवारी साधनको प्रयोग भईरहेको छ । यस प्रकारको सवारी साधनको प्रयोगबाट कुकुरको स्वास्थ्यको दृष्‍टिकोणले डिउटी परीचालनको लागि छोटो तथा लामो दुरीको यात्रामा सहजता प्राप्‍त हुन्छ ।

 

१०.    केहि उल्लेखनीय उपलब्धिहरु:


प्रहरी सेवामा सेवारत कुकुरहरुले हालसम्म प्राप्‍त गरेका उल्लेखनिय सफलताहरु तल उल्लेख गरीएको छ:

 

  • बि.सं २०४० सालमा दोलखा जिल्ला चरिकोट स्थित मकैबारीमा आफ्नै काका, काकी र बहिनिलाई खुकुरी प्रहार गरी मारेको घटना सम्बन्धमा यस स्कुलको कुकुरबाट अपराधी (शोभा श्रेष्ठ) पक्रन सफल ।
  • बि.सं. २०५३ फागुन १८ गते काठमाण्डौको बुढानिलकण्ठमा आफ्नै देवरको छोरा र ज्वाईले ६० बर्षको वृद्दालाई घाँटी थिचि मारेको घटनामा दुबै जनालाई कुकुरले पत्तालगाउन सफल भएको ।
  • बि.सं. २०५४ असार ७ गते सिन्धुपाल्चोक जिल्ला धुस्कुन गा.बि.स.-१ बस्ने बर्ष ४१ को अयोध्या तिमिल्सेना सहित ३ जनालाई सुतिरहेको अवस्थामा खुकुरीले घाँटी रेटी हत्या गरेको अभियुक्तलाई कुकुरले पक्रन सफल ।
  • बि.सं. २०५८ पुष ८ गते सुनसरी जिल्ला पाँचकन्या गा.वि.स.-३ स्कुल डाँडा निवासी पृथ्वी बहादुर थापा र जस बहादुर राईको हत्या गरेको व्यक्तिलाई कुकुरले पक्रन सफल ।
  • बि.सं. २०६२ साल पुष ९ गते विशिष्‍ट व्यक्तिलाई लक्षित गरी पोखरा रंगशालाको प्रवेशद्धारमुनि विष्फोटनको लागि गाढिएको अवस्थामा २० किलो विष्फोटक पदार्थ प्रहरी कुकुरद्धारा पहिचान गरी ठुलो धनजनको क्षति हुनबाट बचाएको ।
  • अपहरण गरी वेपत्ता पारिएका पत्रकार विरेन्द्र शाहलाई मारेर गाढिएको अवस्थामा मिति २०६४ कार्तिक २३ गते जिल्ला बारा, त्यागि बस्तिको पुर्वि जङ्गलमा रेस्क्यु कुकुरद्धारा पहिचान गर्न सफल भएको ।
  • बि.सं. २०६५ पुष ६ गते लागू औषध कुकुरको प्रयोगबाट ठमेल ईलाकामा रहेका भिया होटेल, विन्ध्यवासिनि गेस्ट हाउस, सुप्रिम गेस्ट हाउस, होटेल पटालाबाट उल्लेख्य मात्रामा लागू औषध फेला पार्न सफल भएको ।
  • बि.स. २०६७ सालमा कठमाण्डौ गोगंबु गणेशस्थान ६ स्थित रोयल ट्रेडिङ्ग इन्टरप्राइजेजमा काम गर्ने सुनसरी ९ निवासी द्धारीका प्रसाद खनालको हत्या अभियोगमा अभियुक्तहरु बीर बहादुर माझी र रेशम माझीलाई रोनी नामको कुकुरद्वारा पक्रन सफल भएको ।
  • बि.सं. २०७० सालमा काठमाण्डौ जिल्ला मातातीर्थका ६० बर्षीय सानुकाजी तामाङ्गको हत्याको अनुसन्धानमा रोनी नामको कुकुरलाई घटनास्थलमा प्राप्‍त सबुद हसियाको बिँड सुँघाई छोड्दा हत्यामा संलग्न सोही ठाँउका बिशाल तामाङ्गलाई उसको ओछयानमै पुगेर पक्रन सफल भएको ।
  • मिति २०७१/०६/१४ गते राती लमजुङ्ग, भोटओडारमा बाबु अर्जुन प्रसाद रेग्मी सहित ३ जनाको हत्या भएको घटनामा घटनास्थलमा प्राप्‍त सबुत (हंसिया) सुघाँई छोड्‍दा ज्वाला नामको कुकुरले अभियुक्त (छोरा राममणी रेग्मी) लाई पक्रन सफल भएको ।  
  • मिति २०७२/०२/२५ गते जिल्ला पर्सा ईनर्वामा ला.औ. खोजी डगद्वारा सवारी साधन चेकजाँच गर्ने क्रममा विरगंजबाट ट्याम्पोमा जिल्ला बारा बस्ने बर्ष ४५ को जयना खातुन नामकी महिलाको साथमा र झोलामा गरी ८ के.जी. चरेस सहित पक्रन सफल ।
  • बि.सं. २०७३ सालमा सल्यान जिल्लामा सिता खाण सहित अन्य तिन जनाको हत्या घटनामा प्राप्‍त सबुद गाई बाँध्ने किला भुन्टि नामको कुकुरलाई सुँघाई छोड्दा अभियुक्त (सन्जय भारति) पक्रन सफल भएको ।
  • मिति २०७४/०८/१८ गते प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको सुरक्षार्थ खटिएको केनाईन टोलीले चितवन जिल्ला, भरतपुर महानगरपालीका बिभिन्न वडाहरुमा सर्च गर्ने क्रममा जुलेट नामको प्रहरी कुकुरले वडा नं ५ स्थित सिमलको रुखमुनी झाडीमा लुकाई राखेको कटुवा पिस्तोल थान १, एस.एल.आर राईफलको गोली थान १ र गन पाउडर फेला पार्न सफल ।
  • मिति २०७५/०५/०३ गते पुर्व राजदुत केशवराज झाको आफ्नै निवासमा हत्या भएको घटनामा घटनास्थलमा प्राप्‍त सबुद (चक्कु) सुँघाई छोड्दा यस महाशाखाबाट खटि गएको म्याक्सल र जोली नामको कुकुरद्धारा उक्त घरमा सहयोगिको रुपमा बसेको सानुकान्छा नामको व्यक्ति सुत्ने कोठासम्म पुगि अपराधि पक्रन सफल भएको ।
  • मिति २०७५/०६/०९ गते १३ वर्षिय श्रेया सुनार हत्या घटनामा पोखराबाट खटिएको कुशल नामको कुकरलाई घटनामा प्रयोग गरीएको ढुङ्गा सुँघाई छोड्दा कुकुरले ट्रयाक लिएको आधारमा हत्यामा संलग्न कुसुम पौडेललाई पक्राउ गर्न सफल भएको ।
  • मिति २०७५/०६/०९ गते तनहुको म्याग्दे गाँउपालिकामा राजमार्ग जाँचको क्रममा पोखरा जाँदै गरेको गाडिमा सवार पारस बस्याल नामको यात्रुको झोलाबाट ३ किलो गाँजा चेरी नामको कुकुरले पहिचान गर्न सफल भएको ।
  • मिति २०७६/०१/२९ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङ्गमा राखिएको कार भित्र लुकाई राखिएको ९० ग्राम चरेश डेनी नामको कुकुरद्धारा पहिचान गर्न सफल भएको ।
  • मिति २०७६/०६/२४-५ गते मित्रराष्ट्र चिनका सम्माननिय राष्ट्रपतिको भ्रमण सुरक्षार्थ यस महाशाखाबाट खटिएका वि.प. विषयका कुकुरहरुद्धारा सुरक्षा प्रदान गर्न सफल ।
  • मिति २०७७/०४/२५ गते काठमान्डौको टोखा नगरपालिका, नवज्योती मार्गको सडग किनारमा रहेको कालो रंगको Poliglobal लेखिएको सुटकेसमा टाउको र खुट्टा विहिन अवस्थामा प्राप्‍त लास रहेकोमा सुटकेस बोक्न प्रयोग गरीएको नाम्लो जोजो नामको कुकरलाई सुँघाई छोड्दा अन्दाजी २०० मिटर ट्र्याक लिई अर्को झोलामा संकेत गरेको र उक्त झोला खोलि हेर्दा टाउको र खुट्टा प्राप्‍त भएको हुनाले लास पहिचान सफल भई अपराध अनुसन्धानमा मद्दत पुगेको ।
  • मिति २०७७/०६/१० गते सुनसरि जिल्ला बराहक्षेत्र नगरपालिका निवासि १२ वर्षिय मिना राईको हत्या अनुसन्धानको लागि लैला नामको कुकुर खटिएको र हत्यामा प्रयोग गरीएको बियरको बोतल सुँघाई छोड्दा अपराधि पक्रन सफल भएको ।
  • मिति २०७७/०८/२७ गते जिल्ला कपिलवस्तु शिवराज नगरपालिका बस्ने वर्ष ५९ को शुसिला खड्काको हत्या भएको घटनाको अनुसन्धानको लागि जम्बो नामको कुकुरलाई घटनास्थलमा प्राप्‍त सबुद सुँघाई छोड्दा सोही घरमा मृतक सँगै बस्ने मृतकको भतिजो वर्ष २३ को तोरण बहादुर खड्कालाई संकेत गरेकोमा निज भतिजोले आफ्नो फुपुलाई आफैले मारेको हो भनि बयान दिएको ।
  • मिति २०७८/०९/२३ गते तनहुँ जिल्ला ब्यास नगरपालिका वडा नं. ११ दरौ पधेरो भन्ने स्थानमा पोखरा महानगरपालिका वडा नं. ०८ पृथ्विचोक बस्ने एक व्यक्तिको हत्या भएको घटनाको अनुसन्धानको लागि गण्डकी प्रदेश प्रहरी कार्यालय केनाइन शाखाबाट डग सहितको टोली खटिएर गएकोमा घटनास्थलमा प्राप्‍त सबुत  सुँघाई छोड्दा घटनास्थलबाट अन्दाजी ४ कि.मि. टाढा दमौली बजारसम्म कुकुर पुगेको र उक्त बजारबाट तनहुँ जिल्ला ब्यास नगरपालिका वडा नं. ११ बस्ने पुजन तिवारीलाई लुकिछिपि रहेको अवस्थामा पक्रन सफल भएकोमा सोधपुछको क्रममा निजले अफ्नो अपराध स्विकार गरेको ।
  • मिति २०७९/०१/१७ गते सर्लाही जिल्ला हरिपुर नगरपालिका वडा नं. ०१ डाफे जंगलमा जिल्ला रौतहट मुजरा न.पा. वडा नं. ५ घर भएको ३१ वर्षिय विष्‍णु घिसिङ्गको धारिलो हतियार प्रयोग गरी हत्या भएको घटनाको अनुसन्धानको लागि मधेश प्रदेश प्रहरी कार्यालय केनाईन शाखा, लालगढबाट ट्रयाकर विषयको तालिम प्राप्‍त जर्मन शेफर्ड जातको जंगे नामको डग सहितको टोली खटिएर गएकोमा सबुदको रुपमा घटनास्थलमा प्राप्‍त धारिलो हतियार (खुँडा) सुँघाई छोड्दा त्यहाँबाट दक्षिण पश्‍चिम तर्फ अ. २.५ किलोमिटर पर १ हजार बिगाहसम्म डगले ट्रयाक लिएको साथै त्यहाँ पक्राउ परेका ३ जना शंकित व्यक्तिहरु मध्येबाट फाईण्ड आउट गराँउदा संगिता तामाङ्गलाई संकेत गरेको सोही आधारमा अनुसन्धानालई अगाडि बढाँउदा निजले आफूले अपराध गरेको स्विकार गरेकोले अनुसन्धान कार्यलाई महत्वपुर्ण सहयोग पुगेको ।
  • मिति २०८०/०८/२७ गते साँझको अन्दाजी ६:३० बजेको समयमा कतार एयरवेजको जहाजबाट कार्गो भई त्रिभुवन अन्तराष्‍ट्रिय विमानस्थलको भन्सार कार्यालयको कार्गो गोदाममा साउण्‍डबक्स जस्तो देखिने एउटा शंकास्पद सामान लागू औषध व्यूरो कोटेश्‍वरको शाखा कार्यालय त्रिभुवन अन्तराष्‍ट्रिय विमानस्थल गौचर केनाईन शाखामा सेवारत लागू औषध विषयको गोल्डेन रिट्रिभर जातको एनी र जर्मन शेफर्ड जातको डेनि नाम गरेको प्रहरी कुकुरबाट सर्च गराँउदा कुकुरले उक्त सामानमा संकेत दिएको र खोली हेर्दा गाँजा जस्तो वस्तु फेला परेको हुँदा साउण्‍डबक्स जस्तो देखिने सबै सामानमा सर्च गराईएको र सबै सामानहरुबाट करिव ५५ के.जि. गाँजा जस्तो बस्तु फेला परेको ।
  • मिति २०८०/१२/०४ गते १६:०० बजेको समयमा कार्गो कम्प्लेक्सको आयात तर्फको गोदाममा Air Bill No. 157-90591266 Quatar Airways निर्यातकर्ता AMC MC LLC USA बाट आयातकर्ता Sushant Impex Pvt. Ltd., Kathmandu Baluwatar, Shanti Tamang EXIM Code No. 6698488380122 Np उल्लेख भएको वासीङ्ग मेसिन रहेको र उक्त वासीङ्ग मेसिन चेकजाँच गर्ने क्रममा फल्स बटमहरु देखिएकाले लागू औषध व्यूरो कोटेश्‍वरको शाखा कार्यालय त्रिभुवन अन्तराष्‍ट्रिय विमानस्थल गौचर केनाईन शाखामा सेवारत लागू औषध विषयको प्रहरी कुकुरबाट सर्च गराँउदा कुकुरले संकेत दिएको र खोली हेर्दा २० के.जि. गाँजा जस्तो वस्तु फेला परेको ।
  • मिति २०८०/१२/१३ गते कार्गो कम्प्लेक्सको निर्यात तर्फको गोदाममा विमानस्थल भन्सार कार्यालयको एक्स-रे  मेसिनबाट प्रहरीले कार्गो चेकजाँच गर्ने क्रममा कतार एयरबाट दोहा हुँदै लण्‍डन लैजाने लागिएको एआरए एमइएक्स को कुरियरको १८ वटा फोटो फ्रेमभित्र लुकाई-छिपाई ल्याएको अवस्थामा उक्त फोटो फ्रेममा संका लागी चेकजाँच गर्ने क्रममा फल्स बटमहरु देखिएकाले लागू औषध व्यूरो कोटेश्‍वरको शाखा कार्यालय त्रिभुवन अन्तराष्‍ट्रिय विमानस्थल गौचर केनाईन शाखामा सेवारत लागू औषध विषयको प्रहरी कुकुरबाट सर्च गराँउदा कुकुरले संकेत दिएको र फ्रेम खोली हेर्दा १५ के.जि. चरेस फेला परेको ।
  • मिति २०८१/१२/०१ गते अन्दाजी १९:४५ बजे त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल, गौचरको आगमन तर्फ खटीएको केनाईन टोलीले बैंकक हुदै काठमाण्डौ आएको नेपाल एयरलाईन्सको फ्लाईट नं. (RA402) को लगेज चेकजाँच गर्ने क्रममा एउटा लगेजमा संकेत गरेको र सोही संकेतको आधारमा थप चेकजाँचको लागी दुई भारतिय नागरीकहरु बर्ष २५ को मोहित कुमार र बर्ष २६ को करण महाजनको लगेजबाट चिप्स तथा चकलेटको प्याकेटहरुमा लुकाई छिपाई ल्याएको अन्दाजी ११ किलो अमेरिकन गाँजा बरामद गरी निजहरुलाई लगेज सहीत थप अनुसन्धाननको लागि लागू औषध नियन्त्रण ब्युरो, कोटेश्‍वरमा बुझाईएको  ।
  • मिति २०८१/१२/२४ गते अन्दाजी १२:४२ बजे त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल, गौचरको आगमन तर्फ खटीएको केनाईन टोलीले बैंकक हुदै काठमाण्डौ आएको थाई एयरवेजको फ्लाईट नं. (TG319) को लगेज चेकजाँच गर्ने क्रममा एउटा लगेजमा संकेत गरेको र सोही संकेतको आधारमा थप चेकजाँचको लागी भारतिय नागरिक अन्दाजी २५ बर्षको सन्दिप कुभाटटुमुलाको लगेजबाट चिप्स,  चकलेट तथा मासुको प्याकेटहरुमा लुकाई छिपाई ल्याएको अन्दाजी ९ किलो अमेरिकन गाँजा बरामद गरी निजलाई लगेज सहीत थप अनुसन्धाननको लागि लागू औषध नियन्त्रण ब्युरो, कोटेश्‍वरमा बुझाईएको ।

 

केनाईन कार्यालयको भावी योजना:


नेपाल प्रहरी केनाईन कार्यालयलाई केन्द्रीय प्रहरी तालिम एवं परीचालन निर्देशनालयमा स्तरोन्नति गरी केनाईन सेवालाई प्रदेशहरु, जिल्लास्तरका प्रहरी ईकाइमा, महत्वपूर्ण प्रतिष्‍ठानहरुमा (अति विशिष्ट तथा विशिष्‍ठ व्यक्तिको निवास, कार्यालय, संघिय तथा प्रादेशिक संसद भवन, केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरवार, अन्तराष्ट्रिय विमानस्थल, आदि), कारागार र राष्ट्रिय तथा अन्तराष्ट्रिय सिमानाकाहरुमा शाखा विस्तार गरीनेछ । पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनको क्रममा रहेको हुँदा प्रहरी कुकुरबाट सेवा प्रदानको व्यवस्था मिलाईने योजना रहेको छ । केनाईन कार्यालय र मातहत शाखा/उपशाखाहरुमा विभिन्न विषयगत कामका लागि उत्कृष्‍ट जातका कुकुरहरु उत्पादन एवं वितरणको लागि केन्द्रीय स्तरमा केनाईन प्रजनन केन्द्र स्थापना गरी वच्चा कुकुर उत्पादन गर्ने र प्रहरी सेवामा प्रयोग गरिने छ । विभिन्न चलचित्र, टेलिश्रिङ्खला तथा वृत्तचित्रहरुमा प्रहरी कुकुर सर्वसाधारणलाई उपलव्ध गराउनुको साथै आगामि दिनहरुमा सर्वसाधारणका कुकुरहरुको प्रशिक्षण तथा उपचार एवं प्रजनन केन्द्रबाट उत्पादित प्रहरी सेवालाई आवश्यक भन्दा अतिरिक्त बच्चा कुकुरहरुलाई प्रशिक्षण एवं विक्री वितरणको व्यवस्था मिलाईने छ ।

 

सर्वसाधारणको लागि अपिल:

  • कुकुरद्वारा गरीने अनुसन्धानको कार्यलाई सफल बनाउन घटनास्थललाई सुरक्षित राख्ने कार्यमा प्राथमिकता दिनुहोस् ।
  • स्वस्थ समाज निर्माणको लागि लागू औषध कारोबारीहरुलाई कानूनी दायरामा ल्याउन प्रहरीलाई सूचना प्रवाह गरीदिन तथा कुकुरको प्रयोगलाई जोड दिनुहोस् ।
  • कृपया हात-हतियार तथा विष्फोटक पदार्थबाट हुने जनधनको क्षतिबाट बचाउन प्रहरीलाई चाँडै खबर गर्नुहोस जहाँ कुकुरद्वारा महत्वपूर्ण सहयोग प्राप्‍त हुन्छ ।